नवलपरासी पश्चिममा कांग्रेस सहज अवस्थामा, मुख्य प्रतिस्पर्धा बर्दघाट नगरपालिकामा

नवलपरासी पश्चिममा कांग्रेस सहज अवस्थामा, मुख्य प्रतिस्पर्धा बर्दघाट नगरपालिकामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राज्य पुनर्संरचनाका बेला टुक्रिएर बनेको जिल्ला नवलपरासी पश्चिममा स्थानीय तह चुनावका लागि उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । यो जिल्लामा कांग्रेस, एमाले र माओवादी नै मुख्य प्रतिस्पर्धी दल हुन् । दक्षिणी क्षेत्रमा कांग्रेसको वर्चस्व छ भने उत्तरी क्षेत्रमा एमाले पनि प्रतिस्पर्धी छ । जिल्लामा तीन नगरपालिकासहित सातवटा स्थानीय तह छन् ।

०७४ सालको परिणामका आधारमा कांग्रेस जिल्लाको सबैभन्दा ठूलो दल हो । उसले तीनवटा पालिका जितेको थियो । एउटा पालिका जितेको फोरम लोकतान्त्रिक पनि कांग्रेसमा मिसिएपछि यो संख्या चार पुगेको छ । एमालेले दुई तथा माओवादीले एउटा पालिका जितेका थिए ।

कांग्रेसले सदरमुकाम समेत रहेको रामग्राम नगरपालिकाको मेयर–उपमेयर, सुनवलको मेयरका साथै प्रतापपुर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितेको थियो । यस्तै, फोरम लोकतान्त्रिकसँगको एकतापछि सरावल गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष पनि कांग्रेसको पोल्टामा पुगेको छ । उसले पाल्हीनन्दनमा उपाध्यक्ष पनि जितेको छ ।

एमालेले बर्दघाट नगरपालिकाको मेयर–उपमेयर तथा सुस्ता गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षका साथै सुनवल नगरपालिकाको उपमेयर जितेको थियो । माओवादीले पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा मात्रै सफलता पाएको थियो । आगामी वैशाख ३० गते हुने चुनावका लागि नवलपरासी पश्चिममा दलहरूले उम्मेदवारी दर्ता गराएर प्रचारप्रसार तीव्र पारेका छन् ।

केही पालिकामा सत्ता साझेदार दलबीच तालमेल पनि भएको छ । सुनवल र बर्दघाट नगरपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । दुवै पालिकाको मेयर कांग्रेसले लिएको छ । उपमेयर माओवादीको भागमा परेको छ । सत्ता गठबन्धनमा रहेको जसपा र माओवादीले रामग्राम नगरपालिकामा गठबन्धन गरेका छन् । तालमेलअनुसार त्यहाँ जसपाले मेयर र माओवादीले उपमेयर लिएको छ ।

एमालेले बर्दघाटमा जनमुक्ति पार्टीलाई उपमेयर दिएर तालमेल गरेको छ । गत चुनावको नतिजाका आधारमा बर्दघाटमा कांग्रेस र माओवादीको मत मिलाउँदा एमालेको भन्दा बढी हुन्छ । त्यसैले यसपटक यो नगरपालिका बचाउन एमालेले ठूलै मिहिनेत गर्नुपर्ने देखिएको छ । सदरमुकाम रामग्रामसहितका दक्षिणी क्षेत्रका पालिकामा कांग्रेस मजबुत देखिएको छ ।

फोरम लोकतान्त्रिकसँगको एकतापछि मजबुती झन् बढेको छ । सुनवलमा पनि माओवादीसँगको तालमेलले कांग्रेस सहज अवस्थामा देखिन्छ । पाल्हीनन्दनमा माओवादीले पहिले कांग्रेसबाट जितेकी पवित्रीदेवी कोहारलाई भित्र्याएर फेरि उम्मेदवार बनाएको छ । यसले यो पालिकामा माओवादी मजबुत भएको छ । सुस्तामा एमाले नै मजबुत देखिन्छ । जिल्लाभरकै मुख्य प्रतिस्पर्धा भने बर्दघाटमै हुने सम्भावना छ ।

जिल्लामा आगामी चुनावका लागि २ लाख ३७ हजार १ सय २५ मतदाता छन् । तीमध्ये १ लाख १९ हजार ७ सय ७५ पुरुष र १ लाख १७ हजार ३ सय ४६ महिला छन् । चारजना अन्य छन् ।