काठमाण्डु – पशुपतिनाथ आर्यघाटस्थित शव दाहस्थलमा मृतकको शवबाट हड्डी निकाल्ने प्रयास गरेको आरोपमा पक्राउ परेका २ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अभद्र व्यवहार मुद्दामा दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार शनिबार साँझ करीब ४:५० बजे काठमाण्डु महानगरपालिका–८, पशुपति आर्यघाटमा चितामा जलाउँदै गरिएको शवबाट हड्डी निकालेर अन्यत्र लैजाने प्रयास भएको खबर प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।
प्रहरीका अनुसार हड्डी निकालेको विषयमा विवाद उत्पन्न भएपछि घटनास्थलमा पुगेको टोलीले संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा पेश गरेको थियो ।
पक्राउ पर्नेमा जिल्ला काभ्रेको मण्डनदेपुर नगरपालिका–५ स्थायी घर भई हाल काठमाण्डु महानगरपालिका–८ गौरीघाट बस्ने ६१ वर्षीय गणेशप्रसाद ढकाल र जिल्ला उदयपुरको कटारी नगरपालिका–८ स्थायी घर भई हाल काठमाण्डु महानगरपालिका–८ गौरीघाट बस्ने ३४ वर्षीय विनायक मैनाली रहेका छन् ।
उनीहरूलाई सार्वजनिक अपराधअन्तर्गत आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया