महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ ।

लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान सुरु गरेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले फागुन ५ गते विमोचन गर्ने कार्यक्रम छ ।

पशुपतिनाथ पश्चिम मूल ढोकाअघि रहेको शङ्कराचार्य मठमा पुराण वाचन सुरु भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।

विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोका अघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।

आजदेखि सुरु भएको लिङ्ग पुराण शङ्कराचार्य मठका स्वामीद्वय डा रमणानन्द गिरी र डा. केशवानन्द गिरीले वाचन गरिरहनुभएको छ । लिङ्ग पुराण महाशिवरात्रिका अवसरमा फागुन ६ गतेसम्म सञ्चालन गरिने छ ।

यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । कोषले महाशिवरात्रिको तयारी गरिरहेको छ । यस वर्षको महाशिवरात्रिमा विशिष्ट अतिथिका रूपमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती फागुन ४ गते राजधानी आउने कार्यक्रम रहेको छ । महाशिवरात्रिका अवसरमा माघ २९ गते आइतबारदेखि नै कोषले पशुपति क्षेत्रको विशेष सफाइ अभियान सुरु गरेको छ ।