काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी क्षमा पुजाका लागि आज पशुपतिनाथ मन्दिर जाने भएकी छिन् ।
पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि त्यहाँ जान लागेकी हुन् । जलहरी राख्नुअघि भारतबाट ३३ जना ब्राह्मण आएर दुई दिनयता पूजापाठ गरिरहेका छन् ।
यस्तै भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीले जानकारी दिए ।
राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने उनले बताए । यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो । विभिन्न पक्षको विरोधका बीच पशुपतिनाथ मन्दिरमा जलहरी निर्माणको काम हुँदै आएको छ ।
करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए ।
यसैबीच ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका छन् ।




प्रतिक्रिया