काठमाण्डु- महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित मेलाका लागि उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ ।
पशुपति क्षेत्रको सुरक्षामा एसपीको कमान्डमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले सुरक्षाको कमान्ड गरेका छन् ।
पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाइएको कार्यालयको भनाइ छ ।
यस्तै दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरूको पार्किङ तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ हुनेछन् । त्यसैगरि कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरूलाई पार्किङ व्यवस्था मिलाएको छ ।
विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरू छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्बाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ ।
सदाझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा मात्र डाइभर्सनको नीति अवलम्बन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाएको छ ।
तिनकुनेबाट सिनामङ्गलतर्फ,बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरूलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ ।




प्रतिक्रिया