काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले रोजगारी गुमाएका युवाका लागि सरकारले आपतकालीन प्याकेज तत्काल नल्याए स्थिति भयावह बन्ने बताएका छन् । १३१ औं अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष राणाले सरकारलाई सजग गराएका हुन् ।
बन्दाबन्दीपछि १० लाख नेपाली युवा स्वदेश फर्किने र यस अवस्थामा सरकार सत्ताको भूलभूलैयामा लागिरहे भयावह स्थिति सिर्जना हुने उनले बताए । ‘बन्दाबन्दी खुलेलगत्तै रोजगारी गुमाएर १० लाख युवा नेपाल फर्किने प्रक्षेपण छ । यसर्थ कृषिमा जोड दिँदै आपतकालीन प्याकेज सरकारले तत्काल लागू गर्नुपर्दछ,’ उनले भने । ‘महामारी नभनी सत्ता र लुटको फोहरी खेलमा रमाइरहे स्थिति भयावह बन्नेछ । किनकी युवाहरूले मेरो सरकार कहाँ छ भनेर सोधीखोजी गर्नेछन् ।’
सम्पूर्ण श्रमिकहरूमा शुभकामना व्यक्त गर्दै उनीहरुको हकहित, सुरक्षा र सफलताका लागि उनले ऐक्यवद्धता जाहेर गरेका छन् । ‘महामारीको कठिन घडीमा मानव समाजमाथि चुनौति ठूलो छ । समय कठिन छ, श्रमिकहरूको विशिष्ट समस्या एकजुट भएर निदान गर्नुपरेको छ,’ शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन् ।
बन्दाबन्दीको समयमा अनलाइन माध्यमबाट पठनपाठन भइरहेको भन्दै शिक्षादिक्षाको क्रम सुचारू गर्न सरकारले तदरूकताका साथ सहयोग गर्नुपर्नेमा उनले जोड दिए । विद्यार्थीका लागि अनलाइन सेवा निशुल्क गर्नु पनि उनले सुझाव दिएका छन् । ‘पढ्ने पढाउने प्रयासमा सघाउ गर्दै विद्यालय र विद्यार्थीबीच इन्टरनेटको सुविधा सुढृद र निशूल्क बनाउन आवश्यक छ । सरकारको इच्छाशक्तिकै सवाल छ,’ उनले भनेका छन् ।




प्रतिक्रिया