पशुपतिमा बिहान ३ बजेदेखि नै ४ वटा ढोका खुला, श्रद्धालुको घुइँचो (तस्बिरहरू)

पशुपतिमा बिहान ३ बजेदेखि नै ४ वटा ढोका खुला, श्रद्धालुको घुइँचो (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हरितालिका तीज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका ४ वटै ढोका बिहान ३ बजेदेखि खोलिएको छ ।

तीजका अवसरमा पशुपतिनाथ आउने भक्तजनलाई सहज रूपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि बिहान ३ बजेदेखि नै ४ वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ वटा ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवम् सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुले गौदान गर्ने ठाउँको व्यवस्थालगायतका काम भएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्न ४ वटा लाइनको व्यवस्था गरिएको छ । पहिलो लाइन गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगारेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

दोस्रो लाइन मित्रपार्क–जयबागेश्वरी–पाँचगणेश–भीमसेनस्थान–भुवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

तेस्रो लाइन पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिङ्गेश्वर मन्दिर छेउको सानो

ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
चौथो लाइन तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व

ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ ।

मूल मन्दिरभित्र ८ वटा लामको व्यवस्था गरिएको छ ।

निमित्त सदस्य सचिव जोशीका अनुसार पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।

पशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयबागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ ।

भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।

बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । पशुपतिनाथका नित्य दर्शनार्थी बिहान साढे ५ बजेसम्मका लागि मात्र ४ वटा ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।