काठमाण्डु – हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएको छ।
भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व मनाईन्छ ।
पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर,डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड हो । बिहान मूल मन्दिर प्राङ्गणमा मात्र व्रतालु लाममा बसेका छन् । कोषले यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन नयाँ लाइनको व्यवस्था गरेको छ ।





प्रतिक्रिया