पशुपतिको भेटी चोर्ने पाँच जना पुर्पक्षका लागि थुनामा

पशुपतिको भेटी चोर्ने पाँच जना पुर्पक्षका लागि थुनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरभित्र रहेको संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनछेक बहसपछि पाँच जनालाई थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे तथा बाजा बजाउने कर्मचारीहरू कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ का ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा वडा नं. ९ का ३५ वर्षका कुमार परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ का २९ वर्षीय सञ्जय कपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

इजलासले काठमाडौँ महानगरपालिका वडा नं. ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

कटुवालका अनुसार सबै अभियुक्तविरुद्ध डाँका चोरी मुद्दा दर्ता गरिएको छ । जेठ ७ गते सिसिटिभी निगरानीमा भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका उनीहरूमाथि महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धानपछि जेठ ३२ गते सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले त्यसै दिन जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर गरेको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को निर्वाचन आयोगका सदस्य रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको निर्देशनमा भेटी चोरेको बयान पक्राउ परेकाहरूले दिएका थिए । तर, प्रहरीले अनुसन्धानका क्रममा कोषाध्यक्ष सुवेदीको बयान लिएन ।

भेटीगणनास्थलबाटै पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष नारायण सुवेदी सरको निर्देशनमा भेटी चोरेको बयान दिएका थिए ।