काठमाण्डु – नेपालमा राइड–सेयरिङ सेवाको पर्यावाची बनेको पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन् ।
सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ । प्रारम्भिक चरणमा नियामकीय अस्पष्टता, बजारको अविश्वास र पूर्वाधारको अभावजस्ता चुनौतीबिच बस्न्यातको नेतृत्वले कम्पनीलाई अघि बढाएको थियो ।
उनको नेतृत्वमा पठाओले केवल सेवा विस्तार मात्र गरेन, शहरी जीवनशैलीमै परिवर्तन ल्याउने गरी राइड–सेयरिङ प्रयोगको बानी बसाल्यो । यसको जस बस्न्यातको नेतृत्वलाई नै जान्छ ।
हाल पठाओ नेपाल काठमाण्डु उपत्यका र देशका सातै प्रदेशमा सञ्चालनमा छ । यसले हजारौं चालक साझेदारलाई रोजगारी तथा आम्दानीको अवसर उपलब्ध गराएको छ, जसले गिग अर्थतन्त्रको विस्तारमा समेत योगदान पुर्याएको छ ।
पछिल्लो समय कम्पनी बहुआयामिक सेवातर्फ विस्तार हुँदै गएको छ । अब पठाओ सवारी सेवा मात्र नभई लामो दूरीका सवारी बूकिङ, शहरबिचको आवतजावत सेवा, खाना डेलिभरी, नेपालभर पार्सल डेलिभरी र बजार प्लेटफर्मजस्ता सुविधासहित एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
पठाओ नेपालले बस्न्यातको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उनको आगामी यात्राका लागि शुभकामना दिएको जनाएको छ ।




प्रतिक्रिया