काठमाण्डु – पठाओ नेपालले डेलिभरी क्षेत्रमा व्यापारीहरूको जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यसहित पार्सल सेवामा ‘डेलिभरीको सुनिश्चितता’ सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार व्यवसाय सञ्चालनका क्रममा डेलिभरी असफल हुनु वा ढिलाइ हुनु व्यापारीका लागि प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ, जसको जिम्मेवारी अब पठाओ पार्सलले स्वयं लिने प्रतिबद्धता जनाएको छ ।
पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका अनुसार सेवाअन्तर्गत पठाओ पार्सलमार्फत पठाइएको सामान सुरक्षित रूपमा र तोकिएको मितिभित्र डेलिभरी प्रयास गरिने सुनिश्चितता प्रदान गरिनेछ । यदि तोकिएको मितिसम्म डेलिभरी प्रयास नगरिएर ग्राहकले अर्डर रद्द गरेमा व्यापारीले सामानसँगै सामान बराबरको रकम फिर्ता पाउने व्यवस्था गरिएको छ ।
कम्पनीले जनाएको अनुसार, तोकिएको मितिसम्म डेलिभरी प्रयास नभएको, ढिलाइका कारण ग्राहकले अर्डर रद्द गरेको तथा हड्ताल वा प्राकृतिक विपद् बाहेकका कारणले डेलिभरी नभएको अवस्थामा मात्र सुनिश्चितता लागू हुनेछ । अर्डर रद्द भएको मितिबाट ७ दिनभित्र दाबी गर्नुपर्ने प्रावधान राखिएको छ ।
तर ग्राहकले गलत ठेगाना दिएको, सम्पर्कमा नआएको, ढिलाइ भए पनि अन्तत: डेलिभरी सफल भएको, अर्डर फिर्ता भएको वा ७ दिनपछि दाबी गरिएको अवस्थामा भने यो सुविधा लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।
व्यापारीहरूले आफ्नो रकम कम्पनीको व्यापारी विवरण प्रणालीमार्फत सजिलै दाबी गर्न सक्नेछन् । यसका लागि सम्बन्धित अर्डर छनोट गरी समस्या रिपोर्ट गर्ने, ढिलाइ सम्बन्धी कारण उल्लेख गर्ने तथा आवश्यक प्रमाण पेश गर्नुपर्ने हुन्छ । कम्पनीको समस्या समाधान टोलीले करीब १५–२० मिनेटभित्र सम्पर्क गर्ने र २४–४८ घण्टाभित्र प्रक्रिया सम्पन्न गरी रकम फिर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
पठाओ पार्सलले हाल देशभर ५०० भन्दा बढी स्थानमा सेवा विस्तार गरिसकेको जनाएको छ । साथै २४ घण्टै सहयोग सेवा, छिटो समस्या समाधान र २४ घण्टाभित्र नगद भुक्तानी मिलान जस्ता सुविधा उपलब्ध रहेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार डेलिभरीको बाचा मात्र पर्याप्त नहुने र जोखिमको जिम्मेवारी लिन सक्नु नै वास्तविक भरोसा हुने बताइएको छ । यस नयाँ सेवामार्फत व्यापारीलाई तनावमुक्त बनाउँदै आफूलाई व्यवसायको भरपर्दो साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।




प्रतिक्रिया