पाथीभरामा केबुलकार निर्माण विवादको वार्ता भाँडियो, राजनीतिक समिति माग

पाथीभरामा केबुलकार निर्माण विवादको वार्ता भाँडियो, राजनीतिक समिति माग


काठमाण्डु –ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलनरत पक्ष र सरकारी प्रतिनिधिबीच भएको वार्ता भाडिएको छ ।

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा गठित सरकारी वार्ता टोलीसँग वार्ता नगर्ने आन्दोलनरत पक्षले माग गरेपछि वार्ता भाडिएको हो । आन्दोलनरत पक्षले उच्चस्तरीय राजनीतिक नेतृत्व अर्थात् मन्त्रीसँग मात्रै छलफल गर्ने बताएको छ ।

उनीहरुले आजको छलफलमा यसअघिका सहमति कार्यान्वयन नभएकाले कर्मचारीसँग थप वार्ता नगर्ने अडान लिएका हुन् । सरकारले वार्ता टोली गठन गरेपछि आफूहरुले आन्दोलनका कार्यक्रम स्थगित गरे पनि सरकारले पक्राउ परेकालाई विनाशर्त छाड्नुपर्नेमा धरौटी लिएकोमा आन्दोलनरत पक्षले आपत्ति जनाएको हो ।

वार्तामा आन्दोलनकारीहरुको तर्फबाट अमर तुम्याहाङको संयोजकत्वमा गठित टोली सहभागी थियो ।

यसअघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता हुने भनिएको थियो । आज भएको दुई पक्षीय वार्ता भाँडिएको हो । आन्दोलनरत पक्षले कर्मचारीस्तरीय वार्ताबाट समस्या समाधान नहुने भएकाले अब वर्तमान सरकारी वार्ता समितिसँग वार्ता नगर्ने बताएको हो ।

आन्दोलनकारीको तर्फबाट त्यहाँ केबलकार नै बनाउन नहुने बताउँदै आएको छ । सरकारले भने स्थानीयलाई रोजगारीको ज्ञारेन्टी गरेर भए पनि बनाउनु पर्ने बताइरहेको छ ।