काठमाण्डु – नेपाल पत्रकार महासंघले नेपाली कांग्रेसको जारी महाधिवेशनमा समाचार संकलनमा गएका पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भइरहेको मतदानका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुव्र्यवहार गरेका थिए ।
आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न बुथतर्फ जान लागेका पत्रकाहरूलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार संकलनमा रोक लगाएका थिए ।
महासंघले एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासंघको ठहर छ ।
पत्रकारलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग महासंघले माग समेत गरेको छ ।




प्रतिक्रिया