काठमाडौं – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई आत्मालोचना गर्न सत्तारुढ नेकपाका नेताहरूले सुझाव दिएका छन् ।
मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको हड्डी भाँच्न १ करोड रुपैयाँ छुट्याएको भनेर दिएको अभिव्यक्तिलाई लिएर स्वयः नेकपाका वरिष्ठ नेताहरु नै रुष्ट बनेका हुन् ।
चौधरीको भ्रष्टाचार विरोधी मान्यतामा शंका गर्ने कुनै ठाउँ नभए पनि पदीय मर्यादाअनुकुल अभिव्यक्ति नभएको भन्दै नेकपाका स्थायी कमिटी सदस्यहरू शंखर पोखरेल र योगेश भट्टराई क्षमायाचना गर्न आग्रह गरेका छन् ।
चौधरीले आफूविरुद्ध नियोजित रुपमा केही पत्रकार लागेको र उनीहरुको नाकको डाँडी भाच्न एक करोड रुपैयाँ र एउटा घडेरी छुट्याएको बताएका थिए ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुुकमा स्ट्याटस लेख्दै पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका इश्वर पोखरेल र नेता योगेश भट्टराईले नेकपाले अलम्बन गरेको नीति सिद्धान्त र पदीय गरिमाविपरीत बोलेको भन्दै सच्याउन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन, ‘द्वारिकजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसावले आफ्ना अभिव्यक्तिलाई सच्याउदै आत्म आलोचना गर्नु उचित हुनेछ ।’
योगेश भट्टराईले चौधारीको हकी स्वभाव, प्रष्टवक्ता र इमान्दारिताको प्रशंसक भए पनि सार्वजनिक भएका अभिव्यक्ति स्वयव उनले धारण गरेको सार्वजनिक पद, प्रतिनिधित्व गरेको पार्टी र उनको राजनीतिक उचाइका कारण नसुहाउने बताएका छन् ।
उनले भनेका छन्, ‘आफ्ना भनाइप्रति सार्वजनिक रुपमा आत्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्धारिकालाल चौधरीलाई म विनम्र अनुरोध गर्दछु ।’




प्रतिक्रिया