काठमाडौं – न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताएका छन् ।
उनले आज सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराइने बताए ।
उनले अहिलेको महँगीले पनि पत्रकारको नयाँ तलबमान पुनरवलोकन आवश्यक रहेको धारणा राखे । समिति गठन भएको करिब १५ वर्ष पुग्दा पनि पत्रकारको पेशागत र भौतिक अवस्था सुनिश्चित नभएको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले पनि न्यूनतम पारिश्रमिक लागू गरेर मर्या्दित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले पत्रकारको पेशागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताए । उनले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा गराउनुपर्ने धारणा पनि राखे ।
पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाका लागि महासङ्घ लागिपरेको छ भन्दै सरकारले नयाँ तोकेको तलबमान लागु गराउनुपर्ने बताए । उनले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार प्रत्याभूत गराउनुपर्नेमा जोड दिए ।
नवनियुक्त अध्यक्ष अर्याललाई समितिका सदस्य केपी गौतमले स्वागत गर्दै सरकारले तोकेको पारिश्रमिक लागू गराउनुपर्ने बताए । सो अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य टङ्क पन्त, पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टले पनि उनलाई बधाई दिएका थिए ।
विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष थिए । यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिका अध्यक्षमा नियुक्त गरेको हो ।




प्रतिक्रिया