पत्रकार पुडाशैनी मृत्यु प्रकरण : रवि लामिछानेका समर्थकलाई चितवन छाडेर जान प्रहरीको चेतावनी

पत्रकार पुडाशैनी मृत्यु प्रकरण : रवि लामिछानेका समर्थकलाई चितवन छाडेर जान प्रहरीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मलाई निषेधित क्षेत्र घोषणा जारी गरेको छ ।

पत्रकार शालिकराम पुडाशैनीको हत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवी लामिछानेसहित तीन जनामाथि छानबिन नगर्न दबाब दिँदै दिनहुँ प्रद्धर्शन र नाराबाजी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले आजदेखि जिल्लाको सुरक्षा व्यवस्थालाई थप कडा बनाउँदै भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू भएको क्षेत्रमा प्रद्धर्शनमा रोक लगाइएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

२० साउनमा चितवनकोे एक होटलमा आत्महत्या गर्नुअघि पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मृत्यु रोज्न बाध्य भएको बताएका थिए । सोही कारण लामिछानेलाई प्रहरीले पक्राउ गरी चितवन लगेको हो । हाल आरोपी तीनैजना अदालतको अनुमतिमा प्रहरी हिरासतमा छन् ।

प्रहरी छानबिन प्रभावित गर्ने गरी दबाब दिने उद्देश्यले जारी प्रदर्शन अराजक बनाउन खोजिएको सूचना पाएको भन्दै यदि त्यस्तो भए चितवन बाहिरबाट आएका सबैलाई बलप्रयोग गरी आ–आफ्नो स्थानमा फर्काउने एसपी मल्लले चेतावनी दिए ।

उनले भने, ‘भिडले कसलाई कारबाही गर्ने, कसलाई नगर्ने भन्ने निक्र्यौल गर्ने होइन ।’ ‘कानूनी आधार र प्रमाणका आधारमा पक्राउ गरिएको हो । अपराधमा संलग्न आरोप लागेकालाई छानबिन गर्नै पाइँदैन भन्ने अराजक भिडले विवेक गुमाउँदै गयो भने समातेर आ–आफ्नो घर ठेगानामा लगेर छोडिदिन्छौं ।’ मल्लले त्यसअघि स्वविवेकले चितवन छाडेर जान पनि प्रदर्शनकारीलाई सुझाव दिए ।