काठमाडौं – नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले पत्रकार र सञ्चारमाध्यमलाई नयाँ आचारसंहिता ल्याएको छ ।
पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु ल्याइएको काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।
नयाँ प्रविधि र त्यसले ल्याएका चुनौती तथा समस्याहरुलाई समेत दृष्टिगत गरेर नयाँ आचारसंहिता जारी गरिएको बताउँदै प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने र उनीहरुका सनसनीपूर्ण तर, अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेकाले पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगमा समेत आचारसंहिता ल्याएको प्रेस काउन्सिलले जनाएको छ ।
अब पत्रकार तथा सञ्चारमध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने प्रावधान नयाँ आचारसंहितामा राखिएको छ ।
पत्रकारले नै अमर्यादित र अपुष्ट कुराहरुलाई प्रवाह गर्दा सर्वसाधारण झुक्किने र नभएको कुरा नै हो भनेर स्थापित हुन थालेकाले मर्यादित बनाउन खोजिएको काउन्सिलले जनाएको छ ।




प्रतिक्रिया