काठमाण्डु – विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघले बुधबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
उनले यही जेठ ७ गते बिहान १०ः२० बजेको समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाल र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पहिलो पटक संगठनको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहणले हिमाली भेग तथा हाई अल्टिच्युडका भू-भागहरुमा समेत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कर्मचारीहरुलाई सीमा सुरक्षार्थ थप अभिप्रेरित भई परिचालित हुने बताए ।
उनले नेपालको सीमा सुरक्षा गर्ने कार्यदेश बोकेको सशस्त्र प्रहरी बल नेपालले अन्तर्राष्ट्रिय सीमामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सशस्त्र प्रहरी निरीक्षक पौडेललाई हौसला प्रदान गरिएको स्मरण गर्नुहुँदै उच्च जोखिम एवं जस्तोसुकै परिस्थितीमा पनि हामीले आफुलाई जित्न सक्यौ भने असम्भव भन्ने केही पनि नहुने बताए ।
नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्दै सगरमाथाको प्रथम सफल आरोहण सशस्त्र प्रहरी बल नेपालमा ईतिहासका रुपमा रहने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी नेपालको हिमाली भेगमा सीमा सुरक्षा गर्न तथा हाई अल्टिच्युडमा परिचालित हुन सक्ने जनशक्ति उत्पादन गर्न सक्षम रहेको बताए ।
साथै उहाँले सक्षम नेतृत्व र प्रेरणादायी भूमिका निर्वाह गर्नुहुने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई समेत हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।




प्रतिक्रिया