परीक्षण शुल्क नघटाए अनुमति खारेज


काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आठवटा निजी प्रयोगशालालाई २४ घण्टाभित्र पीसीआर परीक्षण शुल्क समायोजन गर्न निर्देशन दिएको छ । सरकारले तोकेको शुल्क समायोजन नगरे परीक्षण अनुमति खारेज गरिनेसमेत मन्त्रालयले जनाएको छ ।

यसअघि शुल्क समायोजन नगर्ने प्रयोगशालालाई अन्तिमपटक पत्र पठाउन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मन्त्रालयले निर्देशन दिएको थियो । मन्त्रालयले २४ घण्टे समयसीमा दिएकोमा ह्याम्स अस्पताल, स्टार अस्पताल, बी एन्ड बी अस्पताल प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशाला रहेका छन् । यस्तै डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डाइग्नोस्टिक ल्याबरोटर एन्ड रिसर्च सेन्टर र इन्ट्रापिड डायग्नोस्नोस्टिक सेन्टर रहेका छन् । सरकारले यसअघि पीसीआर परीक्षण शुल्क घटाएर दुई हजार रुपियाँ कायम गरेको थियो ।

गुणस्तर तथा नियमन महाशाखाको सिफारिसका आधारमा निजी प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । गत भदौ २८ गतेबाट पीसीआर परीक्षण शुल्क दुई हजार रुपियाँ तोके पनि यी आठवटा प्रयोगशालाले बढी शुल्क लिएका थिए ।

यी प्रयोगशालालाई बढी शुल्क लिएको भन्दै कालोबजारी ऐनअनुसार कारबाही गर्न वाणिज्य विभाग र गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो । यसअघि निजी प्रयोगशालाले गत सोमबार विज्ञप्ति जारी गर्दै आफूहरूले पीसीआर परीक्षणमा तीन हजार ८९९ रुपियाँ लिएको र त्योभन्दा कम गर्न नसकिने जनाएका थिए ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement