दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु


सोल – दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ । उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको थियो ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाले विगत लामो समयदेखि यस्तो प्रचार कार्यालय राखेर उत्तर कोरियाका बिरुद्धमा प्रचार गर्दै आएको थियो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक सैनिक समूह राखेर उत्तर कोरियाका विरुद्धमा प्रचार गर्ने गरेको थियो ।

उक्त क्षेत्रमा ठूलो आवाजका साथ माइक लगाएर उत्तरका विरुद्धमा दक्षिण कोरियातर्फका नागरिकलाई जानकारी दिने गरिएको थियो । गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ । सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने जनाएका थिए ।

गत शुक्रबारको उक्त सम्झौताको पालना गर्दै दक्षिण कोरियाले उत्तरको सीमामा राखिएको उक्त प्रचार संयन्त्र हटाएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाइएको छ । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको र शान्तिग्रामका रुपमा चिनिएको पानमुनजोममा भएको सो शान्ति सम्झौताको पालना गर्ने पहिलो पहलस्वरूप सो संयन्त्र हटाउने निर्णय गरिएको हो ।

दुई कोरियाली उच्च नेताहरूबीच भएको यो सम्झौताले कोरियाली प्रायद्वीपमा शान्तिको पहल गर्ने देखिएको छ । यस कार्यालय हटाएपछि उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । यस सम्झौताले विशेषगरी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच थप आशा जगाएको छ । उनीहरुमा पुनर्मिलन हुनसक्ने आशा दुई कोरियाबीचको यो पछिल्लो वार्ता र सम्झौताले थपेको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएबाट पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा ठूलो परिवर्तन आएको छ । उनको यो प्रतिबद्धताका कारण कोरियासँग वार्ता गर्न अरु देशहरु पनि इच्छुक भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका थिए । उनले उत्तर कोरियाले अरु देशहरुसँग गरेका वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्णरुपमा अघि बढिरहेकाले नेता उनसँग आगामी केही हप्तामा अमेरिकाले पनि वार्ता गर्ने बताएका छन्। (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
Advertisement