स्याङजाका भूकम्पपीडितले अझै पाएनन् राहत

स्याङजाका भूकम्पपीडितले अझै पाएनन् राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङजा – भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् ।

वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउनुहुन्छ । “घर भत्कियो, छाप्रो बनाएर बसेको तीन वर्ष बितिसक्यो, राहत पाउन सकेको छैन,” उनले भने , “बर्खाभरि पानी चुहिने, यता टाल्यो उता चुहिने, उता टाल्यो यता चुहिने, जाडोबाट बच्न गाह्रो हुने भयो ।”

यस्तै गल्याङ नगरपालिका–१० का ज्ञानप्रसाद रेग्मी पहिलो किस्ता पाए पनि दोस्रो किस्ता पाउन नकसेको बताउंछन् । रेग्मीलाई जस्तै वालिङ नगरपालिका–१२ का हुमनाथ पराजुलीलाई पनि राहत नपाउँदा समस्या भएको छ । उनले पहिलो किस्तासमेत पाउनु भएको छैन । उनले भने, “घर पूर्ण रूपमा क्षति भएपछि भत्काएर जसोतसो बनाएँ, रातो कार्ड त दिएका छन्, राहतको पहिलो किस्तासमेत अहिलेसम्म पाइएको छैन ।”

जिल्लामा भूकम्प प्रभावितको सङ्ख्या नौ हजार ३३३ रहेको छ । आठ हजार ७६६ को पूर्ण क्षति तथा ५६७ को घर आंशिक रुपमा क्षति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालयले जनाएको छ । पाँच सय जनाले विभिन्न कारणले पहिलो किस्ता पाएका छ्रैनन् ।

कार्यालयका प्रमुख प्रविन ढकाल केही लाभग्राहीले सम्झौता नगरेको र केहीको नम्बर जुधेका कारण समस्या भएको बताउनुहुन्छ । उहाँले पहिलो किस्ता नपाएका लाभग्राहीलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । स्थानीय निकायलाई नै यसको जिम्मा दिने तयारीमा रहेकोले अब नयाँ कार्यविधि पारित भएपछि दशैँ पछाडि लाभग्राहीले सहज रूपमा रकम पाउने उनको भनाइ छ ।