एक नेपालीको टाउकोमा ५२ हजार ३७५ रुपैयाँ ऋण !

एक नेपालीको टाउकोमा ५२ हजार ३७५ रुपैयाँ ऋण !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रत्येक नेपालीको टाउकोमा ५२ हजार ३ सय ७५ रुपैयाँ ऋण पर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तीनवर्षे कार्यकालमा नेपालको ऋणभार करिब दोब्बरले बढेसंगै नेपालीको भागमा पनि ऋण बढेको हो ।

ओली प्रधानमन्त्री नियुक्त हुँदा फागुन ०७४ मा मुलुकको कुल ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन वर्षपछि ०७७ फागुनमा त्यो बढेर १५ खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो । ०७४ मा प्रत्येक नेपालीको भागमा २ हजार सात सय ७९ ऋण रहेकोमा त्यो बढेर ५२ हजार तीन सय ७५ पुगेको छ ।

तीन वर्षको अवधिमा मुलुकको खुद सार्वजनिक ऋण सात खर्ब ७६ अर्ब रुपैयाँ बढेको हो, जुन ८८ दशमलव पाँच प्रतिशतको वृद्धि हो । कुल गार्हस्थ्य उत्पादनमा ऋणको हिस्साको वृद्धि पनि यसबीचमा उच्च दरमा भएको छ । आर्थिक वर्ष ०७४-७५ मा सरकारले तिर्न बाँकी खुद ऋण कुल गार्हस्थ्य उत्पादनको साढे २४ प्रतिशत रहेकोमा अहिले त्यो बढेर ३७.३ प्रतिशतबराबर पुगेको छ ।

हाल तिर्न बाँकी खुद ऋणमध्ये आन्तरिकतर्फ सात खर्ब १७ अर्ब ५० करोड र बाह्यतर्फ आठ खर्ब ७१ अर्ब ९५ करोड रहेको छ । सार्वजनिक ऋणमा आन्तरिक र बाह्य ऋणको अनुपात ४५.१ प्रतिशत र बाह्यतर्फ ५४.९ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको आठ महिनामा मात्रै सरकारले एक खर्ब १२ अर्ब ५२ करोडबराबरको आन्तरिक ऋण र ८५ अर्ब दुई करोड रुपैयाँ वैदेशिक ऋण परिचालन गरेको छ ।