काठमाण्डु – व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ ।
सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
ऐनको दफा २५ को उपदफा १ मा ऐन लागू भएपछि जन्मेको बच्चाको उमेर, नाम, थर वा अन्य विवरण ऐन बमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरिएपछि सच्याउनु परेमा त्यसको लागि सम्बन्धित व्यक्तिले त्यस्तो प्रमाणपत्र लिएको एक वर्षभित्र मात्रै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन पाउने व्यवस्था थियो ।
यसको मतलब यसअघि बच्चाको मात्रै उमेर, नाम, थर वा अन्य विवरण दर्ता भएको एक वर्षभित्र मात्रै सच्याउन पाउने व्यवस्था थियो । अब जो सुकैले पनि एक पटकका लागि विवरण सच्याउन पाउने भएका छन् ।
यसका लागि सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।
यसरी विवरण सच्याएको जानकारी स्थानीय पञ्जिकारधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।





प्रतिक्रिया