ट्रम्पको दाबीपछि कच्चा तेलको मूल्यमा भारी गिरावट

ट्रम्पको दाबीपछि कच्चा तेलको मूल्यमा भारी गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध समाप्त भएको दाबी गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

एक महिनाअघि प्रति ब्यारेल ११२ अमेरिकी डलरसम्म पुगेको कच्चा तेलको मूल्य शुक्रबार घटेर ८५ डलरमा झरेको छ। यसअघि बिहीबार उक्त मूल्य ८९ डलर प्रतिव्यारेलमा कारोबार भइरहेको थियो।

ट्रम्पले वासिङ्टन र इरानबीच रूपरेखा सम्झौता भएको तथा आज युद्ध समाप्त भएको बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि खाडी क्षेत्रमा तनाव कम हुने अपेक्षासँगै विश्व बजारमा तेलको मूल्य घटेको विश्लेषण गरिएको छ। यद्यपि इरानी पक्षले भने ट्रम्पको दाबीलाई स्वीकार गरेको छैन।

अन्तराष्ट्रिय बजारमा अर्को प्रमुख बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य पनि घटेको छ। शुक्रबार ब्रेन्ट क्रुड ८८ डलर प्रतिव्यारेलमा कारोबार हुँदा अघिल्लो दिन यसको मूल्य ९३ डलर रहेको थियो।

ट्रम्पले आगामी केही दिनभित्र औपचारिक सम्झौतामा हस्ताक्षर हुने अपेक्षा व्यक्त गर्दै हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन्।