काठमाडौँ – कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण विगत दुई हप्तादेखि आयात रोकिएको थियो ।
कोरोना भाइरसका कारण लोड लिन ट्याङ्कर चालकहरू भारत जान नमानेपछि आयात रोकिएको हो तर नेपाल आयल निगमले चालकलाई कोरोना भाइरसबाट बच्ने सुरक्षाको प्रत्याभूति गराएपछि आयात सुरु भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुभयो, “पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकाले लामो समय ढुवानी रोकिनु राम्रो हँुदैन, सुरक्षा अपनाएर हामीले ढुवानी गर्नैपर्ने हुन्छ । त्यसकारण उहाँहरूलाई अनुरोध गरेर ढुवानी सुचारु गरेका हौँ । ”
मङ्गलबार धनगढीबाट ४५ वटा ट्याङ्कर ढुवानीका लागि गएको निगमले जनाएको छ । आयात नभए पनि सो क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भने छैन । नेपालगञ्ज र धनगढी नाकाबाट सामान्य दिनमा दैनिक छ सय किलोलिटरसम्म डिजेल र १५ सय किलोलिटरसम्म पेट्रोल आयात हुँदै आएको थियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया