दुई दिनको बिदाले इन्धन कति बचत हुन्छ ?

दुई दिनको बिदाले इन्धन कति बचत हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्धन खपत घटाउने उद्देश्यले सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा आइतबार थप एक दिन बिदा दिने निर्णय गरेको हो । यो निर्णय विश्वभर बढ्दो इन्धन संकटका कारण लिइएको सरकारको भनाइ छ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता, अन्तर्राष्ट्रिय ऊर्जा संकट र इन्धन खपत घटाउने आवश्यकतालाई आधार बनाउँदै सातामा थप एक दिन आइतबार बिदा दिने निर्णय सरकारले गरेको हो । सरकारी निर्णयअनुसार अब हप्तामा दुई दिन शनिबार र आइतबार सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने छ ।

अब शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ । यो निर्णय सोमबारदेखि नै लागू भएको छ ।

नेपालले विगतमा दुई पटक असफल भइसकेको दुई दिन बिदा दिने अभ्यासलाई तेस्रो पटक फेरि कार्यान्वयनमा ल्याएको छ । यसले ऊर्जा व्यवस्थापन, प्रशासनिक दक्षता र सेवा प्रवाहबीचको सन्तुलन मिलाइने सरकारको भनाइ छ ।

पश्चिम एसियामा जारी तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति शृंखला प्रभावित बनेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । जसको असर नेपालको पेट्रोलिय पदार्थमा पनि देखिएको छ । हाल नेपालमा पेट्रोल मूल्य प्रतिलिटर २ सय २ रुपैयाँ र डिजेल एवं मट्टीतेल प्रतिलिटर १ सय ८२ रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।

दुई दिनको बिदाले नेपालमा कति इन्धन बचत हुन्छ भन्ने विषयमा चासो पनि बढेको छ । उपलब्ध तथ्याङ्कका आधारमा हेर्दा यस्तो बिदाले सीमित मात्रामा इन्धन बचत हुने देखिन्छ ।

हप्तामा दुई दिन बिदा हुँदा करिब १० प्रतिशत इन्धन खपत कम हुने अनुमान नेपाल आयल निगमको छ । निगमका अनुसार देशभर दैनिक २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत भइरहेको छ । यस्तै दैनिक ४५ हजार टन खाना पकाउने ग्यास खपत हुँदै आएको छ ।

हप्तामा एक दिन बिदा थपिँदा पेट्रोल र डिजेलको कूल उपभोगको १० प्रतिशत अर्थात् ७ लाख ५० हजार लिटर इन्धन बचत हुने अनुमान छ । तर हप्तामा एक दिन थपिँदा इन्धन संकट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न करिब एक हप्ता कुर्नुपर्ने निगमको भनाइ छ ।

अहिलेको मूल्यअनुसार दिनको ९० करोड ३७ लाख ५० हजार रुपैयाँको डिजेल खपत हुन्छ भने ५० करोड १८ लाख ७५ हजार रुपैयाँको पेट्रोलको खपत हुन्छ ।

यसरी दिनको १ अर्ब ४० करोड ५६ लाख रुपैयाँको इन्धन खपत भइरहेको छ । अहिले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपनि निगम घाटामा छ । निगमलाई पेट्रोलमा भन्दा डिजेलमा धेरै नोक्सानी भइरहेको छ । बर्तमान मूल्यअनुसार डिजेलमा प्रतिलिटर १२० रुपैयाँ, पेट्रोलमा ३४ रुपैयाँ र खाना पकाउने ग्यासमा ४१६ रुपैयाँ घाटा निगमलाई छ ।

यदि बिदाका कारण सवारी साधनको प्रयोग घटेर १० देखि २० प्रतिशतसम्म कमी आयो भने दुई दिनमा करिब १५ लाखदेखि ३० लाख लिटर इन्धन बचत हुन सक्ने अनुमान गरिएको छ ।

मूल्यका आधारमा हेर्दा प्रतिलिटर औसत डिजेल र पेट्रोलको १७० रुपैयाँ मान्दा, दुई दिनको अवधिमा करिब २५ करोडदेखि ५० करोड रुपैयाँ बराबरको इन्धन बचत हुन सक्छ ।

तर, वास्तविक बचत भने जनताको व्यवहारमा निर्भर हुने निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् । बिदाका दिनमा मानिसहरू घुमफिरमा निस्किए, निजी सवारीको प्रयोग बढे वा पर्यटन गतिविधि तीव्र भएमा अपेक्षित बचत हुन नसक्ने सम्भावना पनि रहन्छ । त्यस्तै, ढुवानी, औद्योगिक गतिविधि तथा अत्यावश्यक सेवाहरू भने बिदाका दिनमा पनि नियमित सञ्चालन हुने भएकाले पूर्ण रूपमा इन्धन खपत घट्ने अवस्था हुँदैन ।

ऊर्जा क्षेत्रमा काम गर्ने सरोकारवालाहरूका अनुसार बिदा मात्र पर्याप्त उपाय होइन । इन्धन बचतका लागि दीर्घकालीन रूपमा सार्वजनिक यातायातको विस्तार, वैकल्पिक ऊर्जाको प्रयोग र सवारी व्यवस्थापनमा सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।

यसैले दुई दिनको बिदाले केही हदसम्म इन्धन बचत गर्न सहयोग गरे पनि यसको प्रभाव सीमित हुने र व्यवहारमा आधारित रहने देखिन्छ ।