काठमाण्डु – नेसपा नेता फणीन्द्र देवकोटा संसद बैठकमा सहभागी भएका छन् । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बिहीबारको बैठकमा प्रवेश नपाएका देवकोटाले शुक्रबार प्रवेश पाएका छन् ।
शुक्रबारको बैठकको सुरुमै सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाए । फणीन्द्र संसद बैठकमा सत्तापक्षको ‘रो’मा बसेका छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा उपसभामुखको आडैको कुर्सीमा बसेका छन् ।
बिहीबारको बैठकमा सभामुख धितालले अदालतको आदेशमा आफूले अध्ययन गर्न नभ्याएको भन्दै देवकोटालाई प्रवेश निषेध गरेका थिए ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई ३२ जेठमा कारबाही गरेको थियो । त्यसपछि देवकोटाले ६ असारमा कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए ।
आफू नेसपासँग आबद्ध रहेको र माओवादीले कारबाही गर्न नमिल्ने जिकिर गर्दै दायर गरेको रिटमा १० असारमा प्रकाशमान सिंह राउतको एकल इजालसले देवकोटालाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।




प्रतिक्रिया