नेपालको झल्को दिने हजारौं फिलिपिनो ‘जेनजेड’ सडकमा

नेपालको झल्को दिने हजारौं फिलिपिनो ‘जेनजेड’ सडकमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलन जस्तै फिलिपिन्सका जेनजीहरूले पनि आन्दोलन गरेका छन् ।

दसौँ हजार फिलिपिनीहरू आइतबार सडकमा ओर्लिएर सरकारसँग जोडिएको भ्रष्टाचारकाे विरोध गरेका हुन् ।

विद्यार्थी, कलाकारदेखि विभिन्न राजनीतिक ध्रुवका नागरिकसम्म राजधानी मनिला र अन्य सहरका सडकमा उत्रिएका छन् ।

सांसद र अधिकारीहरूले ठेक्का दिने सर्तमा ठूलो कमीशन खाएको तर बाढीबाट देशलाई जोगाउनुपर्ने महत्त्वपूर्ण परियोजना भने कार्यान्वयन नभएको उनीहरूले आरोप लगाएका छन् ।

प्रदर्शनकारीहरूले फिलिपिन्सको झण्डा बोकेर ‘अब छैन धेरै, तिनीहरूलाई जेलमा हाल’ भन्ने नारासहितका ब्यानर देखाउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका थिए ।

फिलिपिन्स सरकारकै अनुमानअनुसार पछिल्ला दुई वर्षमा बाढी नियन्त्रण परियोजनामा भएको भ्रष्टाचारका कारण अर्थतन्त्रले झण्डै १.४८ अर्ब पाउण्ड गुमाएको छ ।

ग्रीनपीसले यसलाई अझ ठूलो आँकडा दिँदैसन् २०२३ मा मात्र जलवायुसम्बन्धी परियोजनाबाट १३ अर्ब पाउण्डभन्दा बढी रकम हिनामिना गरिएको दाबी गरेको छ ।

यो आरोप पहिलोपटक जुलाईमा सार्वजनिक भएको थियो, जब मनसुनको वर्षा र आँधीबेहरीले धेरै सहर डुब्दा करोडौँ नागरिक अलपत्र परेका थिए ।

फिलिपिन्समा हरेक वर्ष औसतमा २० उष्णकटिबन्धीय चक्रवात आउँछ । जसले यसलाई प्राकृतिक प्रकोपप्रति विश्वकै सबैभन्दा संवेदनशील देश बनाएको छ ।

‘हाम्रो उद्देश्य अस्थिरता ल्याउने होइन, हाम्रो लोकतन्त्रलाई सबल बनाउने हो,’ क्याथोलिक बिशप्स कन्फरेन्स अफ द फिलिपिन्सका प्रमुख कार्डिनल पाब्लो भिर्गिलियो डेभिडले भने ।

विरोध प्रायः शान्तिपूर्ण भए पनि प्रहरीले छुट्टाछुट्टै घटनामा २० नाबालकसहित ७२ जनालाई पक्राउ गरेको छ । विरोध प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले केही ठाउँमा आगजनी पनि गरेका छन् ।

मनिलाको एउटा पार्कमा आइतबार बिहानको प्रदर्शनमा झण्डै ५० हजार मानिस सहभागी भएको नगरपालिकाको अनुमान छ भने राजधानीको सडकहरूमा पनि हजारौँले दिउँसोको र्‍यालीमा सहभागिता जनाएका थिए ।

‘तिनीहरूले जनताको पैसा सकिरहेका छन्, जबकि नागरिकहरू बाढीले घर बगाउँदा पीडित छन् । तर अधिकारीहरू निजी विमान चढ्छन्, महलमा बस्छन्,’ ५८ वर्षीय मनुएल डेला सेर्नाले एएफपीलाई भने ।

प्रदर्शनकारीहरूले हिनामिना गरिएको धन फिर्ता गर्न र दोषीलाई जेल हाल्न माग गरेका छन् । यी प्रदर्शनहरूले एसियाका अन्य देशमा समेत देखिएको आक्रोशलाई प्रतिध्वनित गरेको छ ।

नेपालमा हालै भएको जेनजी नेतृत्वको आन्दोलनले सरकार ढालेको छ भने इन्डोनेसियामा हालै सांसदहरूलाई दिइएका विशेषाधिकारविरुद्ध आन्दोलन भएको छ ।

फिलिपिनो राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले आफ्नो वार्षिक राष्ट्रको अवस्था सम्बोधनमा बाढी नियन्त्रण भ्रष्टाचार काण्ड सार्वजनिक गरेका थिए र त्यसपछि स्वतन्त्र आयोग गठन गरेर छानबिन सुरु गराएका छन् ।

संसदको छुट्टै छानबिनमा एउटा निर्माण कम्पनीका मालिकले करिब ३० जना सांसद र अधिकारीले नगद लिएको आरोप लगाएका थिए ।

आइतबारको विरोध ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मितिमा भएको थियो । १९७२ को सेप्टेम्बर २१ मा तत्कालीन राष्ट्रपति मार्कोस (मार्कोस जुनियरका पिता) ले सैनिक शासन लगाएका थिए । उनले थप १४ वर्ष सत्तामा बसे र झण्डै १० अर्ब डलर लुटेको आरोप लागेको छ ।