संखुवासभा – संखुवासभाको उत्तरी क्षेत्रमा एक महिना अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा मकालु र भोटखोलाका सयौँ सेवाग्राही सञ्चारसेवाबाट वञ्चित भएका छन् ।
मकालु गाउँपालिका–५ को मांसिमा डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो । सञ्चार सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीय सुजन गुरुङले गुनासो गरे ।
उनी मात्र होइन उत्तरी क्षेत्रका बासिन्दाले एक महिनासम्म आफन्तजनसँग कुराकानी गर्न नपाएको बताए । महिना दिन बित्दासमेत सरोकारवाला निकाय कानमा तेल हालेर बस्दा स्थानीयले सञ्चार सेवाबाट वञ्चित हुनु परेको मकालु गाउँपालिका–३ का सुजन गुरुङले जानकारी दिए । स्थानीय गुरुङले भने, ‘हामी टेलिकम कार्यालय खाँदबारीलाई पटक–पटक जानकारी गराउँदा पनि विभिन्न कारण देखाउँदै आलटाल गर्न गरेको छ ।’
उत्तरी क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको महिना दिन बित्दा पनि सरोकारवाला निकायले खासै चाँसो नदेखाएको पत्रकार गंगा विष्टले बताए । यो क्षेत्रमा बर्खायाममा घाम लागेको बेला मात्र टेलिफोन सेवा पाइने पत्रकार विष्ट बताए । यता, नेपाल टेलिकम खाँदबारीका प्रमुख राधारमण भट्टराईले उत्तरी क्षेत्रको सञ्चारसेवा चाँडै सुचारु गर्न बताए ।
प्रमुख भट्टराईले भने, ’हामी क्षेत्रमा प्राविधिक टोली माग गरिसकेका छौँ । अब केही दिनमा सेवा सुचारु हुने छ ।’ उत्तरी क्षेत्रका लागि खाँदबारी–४ लहरी र मकालु–५ को मांसिमामा राखिएको टेलिकमको टावर विद्युत सेवा नहुँदा घाम लागेको बेला मात्र चल्ने गरेको छ । नेपाल टेलिकम खाँदबारीमा पटक–पटक टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको गुनासा निवेदनहरू चाङ लागेर थन्किने गरेका छन् ।




प्रतिक्रिया