नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी उद्घाटन

नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी उद्घाटन


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवस २०८० को अवसरमा आयोजित नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनीको जङ्गी अड्डामा आयोजित विशेष समारोहबीच उद्घाटन गरेका छन् ।

माघ ९ गतेदेखि १३ गतेसम्म जङ्गी अड्डा परिसरमा सञ्चालन हुने प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्किने फोटो, हातहतियार र उपकरणहरू राखिएको छ ।

प्रदर्शनीमा सैनिक पोशाक, व्याण्ड, हवाइ सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीको प्रदर्शनी हुनेछ ।

आम नागरिकलाई नेपाली सेनाको विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था रहनुका साथै सहायता कक्षको पनि व्यवस्था रहेको छ ।

मंगलबार सम्पन्न उद्घाटन कार्यक्रममा प्रधानसेनापति महारथी शर्माले नेपाली सेना फोटो प्रतियोगिता २०८० का विजेताहरू (गैरसैनिक र सैनिक) लाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरू, नेपाल प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, इतिहासविद्, नेपाल स्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति थियो ।