सामूहिक राजीनामा बुझाएका पाइलट किन हच्किए ?

सामूहिक राजीनामा बुझाएका पाइलट किन हच्किए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगममा सामूहिक राजीनामाको ज्ञापनपत्र बुझाएका २५ पाइलटमध्ये चार जनाले ज्ञापनपत्रबाट नाम फिर्ता मागेका छन् । निगमका अपरेसन विभाग प्रमुख क्याप्टेन दीपु जुहार्चनका अनुसार चार जनाले पत्रकारितामार्फत राजनीतीकरण भएको भन्दै ज्ञापनपत्रबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

फिर्ता गर्नेमा रुविन्द्र शेरचन, एनबी विश्वकर्मा, समाजकुमार श्रेष्ठ, राजेश कुशवाहा छन् । नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई एकपछि गर्दै अर्को संकट आइलागेको छ । ३७ अर्बको घाटामा रहेको निगमको कार्यकारी प्रमुख पद रिक्त भएसँगै ६१ बर्से इतिहासमा पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा दिन सक्ने भन्दै ज्ञापन पत्र पेस गरेका थिए ।

तीन महिनासम्म माग पूरा नभए सामूहिक राजीनामा दिन बाध्य हुने उनीहरूको एकमत छ । विदेशी र स्वदेशी पाइलटको सेवासुधिमा चरम भेदभाव भएको भन्दै उनीहरूले पटकपटक व्यवस्थापनलाई भन्दै आएका थिए । करारमा रहेका विदेशी पाइलटमाथि हुने फजुल खर्च रोक्नुपर्ने माग उनीहरूको छ ।

राजीनामा दिने निष्कर्षमा पुगेर स्वीकृत भएमा अन्तर्रा्ष्ट्रिय उडान ठप्प हुने सँगै पाइलटलाई पनि जागिर पाउन गाह्रो हुने वरिष्ठ क्याप्टेन डिआर निरौलाले बताए ।

विदेशी र नेपलाी पाइलटमा चरम विभेद भएको भन्दै निगमका २५ जना पाइलटले सामूहिक राजीनाको ज्ञापनपत्र बुझाएका थिए । वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दसमक्ष सामूहिक राजीनामा बुझाएका हुुन् ।

निवर्तमान कार्यकारी अध्यक्ष मदन खरेलले माघ ५ गते राजीनामा दिएपछि निगमको अध्यक्ष पद रिक्त छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई बोर्ड सदस्य नियुक्त गरेको छ । अधिकारीको अध्यक्षता माघ १२ गतेपछि मात्रै लागू हुनेछ । त्यसपछिमात्रै बोर्ड मिटिङमा यस एजेन्डाबारे छलफल हुने अधिकारीले बताए ।