विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैँ

विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैछ । आज बसेको मन्त्रीपरिषद बैठकले विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको थियो ।

यस्तै दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षण आज पनि जारी छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण भइरहेको छ ।

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिइ । एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको छ ।

शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ । फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गरिनेछ ।

डीएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ ।

हिजो बिहान काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो । विमानका पाइलट मनिष शाक्य घाइते छन् । उनको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव छन् । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।