काठमाडौँ— सरकारले आगामी आर्थिक वर्ष ०७६-०७७ लाई ‘वृक्षरोपण वर्ष’ को रुपमा मनाउँदै ५ करोड बढी बोटबिरुवा रोप्ने भएको छ। आगामी आवको बजेटमा समावेश भएको कार्यक्रमबाट ७७ वटै जिल्लामा वृक्षरोपण गर्ने उल्लेख छ ।
नेपालमा करीब ४५ प्रतिशतको हाराहारीमा वन भए पनि पछिल्लो समय सहरी क्षेत्र उजाड बन्दै गएका बेला वन तथा वातावरण मन्त्रालयले पाँच करोड बिरुवा रोप्ने योजना बनाएको हो। ७७ वटै जिल्लामा विभिन्न ठाउँका खाली चौर, पर्ती जग्गा, नदी खोला किनार र जंगल क्षेत्रमा वृक्षरोपण गर्ने योजना बनाएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
वन तथा वातावरण मन्त्रालयको वार्षिक विकास कार्यक्रममा भनिएको छ, ‘बिरुवा उत्पादन, रोपण तथा वितरण गरेर वृक्षरोपण कार्यक्रम मनाइने छ।’ ७ वटै प्रदेशका ७७ जिल्लामा सञ्चालन हुने अभियानका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको वार्षिक विकास कार्यक्रममा उल्लेख छ। वृक्षरोपण वर्ष अन्तर्गत नै प्रदेश ३ र सुदूरपश्चिम प्रदेशमा सडक, नदी किनार तथा धार्मिक क्षेत्रमा फलफूलसँग अन्य विरुवा रोपणका लागि छुट्टै कार्यक्रम स्वीकृत भएको छ। वार्षिक विकास कार्यक्रममा उल्लेख भए अनुसार काठमाडौँ, ललितपुर र कञ्चनपुर जिल्लामा वृक्षरोपण गर्न १ करोड २० लाख बजेट छुट्टाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतकै चाहानामा यो कार्यक्रममा बजेटमा समावेश छ। प्रधानमन्त्री ओलीले युरोप भ्रमणका क्रममा पनि करोडौँ बिरुवा रोप्ने गरी वृक्षरोपण वर्ष मनाउन लागिएको जानकारी दिएका थिए। बजेट वक्तव्यमा भनिएको छ, ‘आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्ष घोषणा गरी काष्ठ, गैरकाष्ठ फलफूलका विरुवा रोपण गरिनेछ।’
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगाना सहरी क्षेत्रको प्रदूषणलाई मध्यनजर गर्दै समग्र हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण वर्षका रूपमा अभियान चलाइने बताउँछन्।
वन तथा वातावरण मन्त्रालयले प्रधानमन्त्री ओली, वनमन्त्री बस्नेतसहितको उपस्थितिमा आगामी शनिबार चक्रपथको बालकुमारी–कलंकी सडकखण्डमा तीन हजार ३ सय बोटबिरुवा रोप्दैछ। असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा उक्त क्षेत्रमा उपलब्ध भएसम्म पाँच फिट अग्ला बिरुवा रोपिने विभागका उप–महानिर्देशक राजेन्द्र केसीले जानकारी दिए। राजवृक्ष, तेजपात, गिनको बाइलोलगायत बिरुवा रोप्न आवश्यक तयारी थालेको हो ।
सरकारले आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्ष र आगामी १४ असारमा राष्ट्रिय वृक्षरोपण दिवस मनाइरहेका बेला नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियान सफल पार्न आह्वान गरेका छन्। अध्यक्षद्वयले बुधबार एक वक्तव्य जारी गरी वृक्षरोपणमा अनिवार्य रुपमा उपस्थित हुन आफ्ना नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् भने आमनेपालीलाई पनि सहभागिताका लागि आह्वान गरेका छन्।
सरकारले गत वर्ष ‘एक नेपाली एक फलफूल’ अभियान चलाएको थियो। अभियान अन्तर्गत २९ लाख बिरुवा रोपिएको थियो। वातावरण दिवसको अवसरमा गत जुन ५ मा प्रधानमन्त्री ओलीले सिंहदरबारमा एभोकाडो र लिची रोपेर अभियान सुरु गरेका थिए।




प्रतिक्रिया