आफूविरुद्धको मुद्दाबारे प्रधानमन्त्री प्रचण्डले भने- दबाब महसुस भइरहेको छ


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको आफूविरुद्धको मुद्दा सामान्य नभएको बताएका छन्।

उनले आफू प्रधानमन्त्री भएपछि पटक-पटक कार्यकारीविरुद्ध अदालतमा मुद्दा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। मकवानपुरको हेटौंडामा समाजवादी मोर्चाले आइतबार आयोजना गरेको सन्देशसभामा सम्बोधन गर्दै एक खालको दबाब महसुस भइरहेको  बताए ।

‘विस्तृत शान्ति सम्झौताको मर्मविपरीत, संविधानसभा, संविधानको मूल प्रवाहमाथि कुठाराघात गर्दै प्रधानमन्त्रीका विरुद्ध मुद्दा हाल्ने काम भइरहेको छ। मेरो यो भनाइ अदालतमाथि अपमान गर्नु छैन। बरु म अदालतलाई धन्यवाद दिन चाहन्छु। कमसेकम त्यस्ता मुद्दालाई अदालतले पेन्डिङ गरिदिएको छ। तर, मुद्दा त छ। यो सामान्य कुरा होइन। यो मेरो व्यक्तिगत कुरा होइन र थिएन पनि। परिवर्तन र जनताले गरेको त्यागको सम्मान गर्ने कि नगर्ने भन्ने हो। सरकारको विरुद्ध एक खालको दबाब महसुस भइरहेको छ ।’, उनले भने ।

१० वर्षसम्म चलेको जनयुद्धका क्रममा बालसेना प्रयोग गरेको भन्दै माओवादीका पूर्व बाल सेना लेनिन विष्टले सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

सर्वोच्चले उक्त मुद्दामा विपक्षी प्रचण्ड र बाबुरामको जवाफ माग गरेको थियो। माओवादीका पूर्व बालसेना लेनिन विष्टले गत जेठ २८ गते दायर गरेको रिटमा प्रचण्ड र बाबुरामसहितका विपक्षीहरुले जवाफ पठाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement