प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा, के-के छन् कार्यक्रम ?

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा, के-के छन् कार्यक्रम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो ।

जसअनुसार प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेट गर्नेछन् ।

बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि प्रचण्डले भेट गर्ने कार्यक्रम छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन-नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै प्रधानमन्त्री २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न प्रधानमन्त्रीले चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् ।

२३ देखि ३० सेप्टेम्बरसम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहनेछन् । साथै राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको सहभागिता रहने छ ।