चौतर्फी आलोचनापछि प्रधानमन्त्रीले भने- चाडपर्वको मुखमा मूल्यवृद्धि गर्नु राम्रो होइन


काठमाण्डु- नेपाल आयल निगमले सरकारलाई जानकारी निदएर पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढाउनुमा सरकारको भूमिका नरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले असन्तुष्ट ब्यक्त गरेका हुन् । आइतबार बिहान प्रधानमन्त्रीले नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बालुवाटार बोलाएर थाहै नदिई किन मूल्य बढाएको भन्दै जवाफ मागे ।

जवाफमा थानीले स्वचालित मूल्यप्रणाली लागू गरेको भन्दै त्यहीअनुसार मूल्यवृद्धि गरिएको जवाफ दिएका थिए । सोहीक्रममा प्रधानमन्त्रीले चाडबाडका मुखमा यसरी एकपक्षीय रुपमा मूल्य बढाउनु राम्रो नभएको बताएका थिए।

यसैबीच प्रधानमन्त्रीको सचिवालयले पनि पेट्रोलियम पदार्थको मूल्य बढाउनुमा सरकारको भूमिका नरहेको जनाएको छ । प्रधानमन्त्रीकी प्रमुख स्वकीय सचिव गंगा दाहालले मूल्यवृद्धिको विरोधको जवाफ दिँदै यसमा सरकारको हात नरहेको बताएकी हुन् ।

‘पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वचालित प्रणालीअन्तर्गत निर्धारण हुने गर्दछ, यसमा सरकारको भुमिका नहुने र अन्तर्राष्ट्रिय बजारमा स्वचालितरूपमा मूल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ । आशा गरौं चाडपर्वको मुखमा मूल्यवृद्धिको कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिने छ ।’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

सरकारले चाडपर्वको मुखमा जनतालाई मारमा पार्ने गरि मूल्य बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement