काठमाण्डु- दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको परिवारका सदस्यको नाम जोडिएर आएको भन्दै नेकपा एमालेका संसदले प्रश्न उठाएका छन्।
मंगलवार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई एनसेल प्रकरणमा तपाईँकै परिवारको नाम जोडिएर आएको छ नी ? भन्दै प्रश्न गरेका हुन्।
एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालको नाम जोडेर चर्चा गरिएकोप्रति लक्षित गर्दै सांसद श्रेष्ठले उक्त प्रश्न गरेका हुन् । त्यस्तै सांसद श्रेष्ठले अबको ५ वर्षभित्र एनसेल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन भनेर जवाफ समेत माग गरे।
‘हामी बिरालोको रङबारे किन बहस गर्छौँ ? बहस बिरालोले मुसा मार्छ कि मार्दैन भन्ने हुनुपर्ने हैन र ? । एउटा काण्ड आएपछि अर्को किन आउँछ ? अबको ५ वर्षपछि सन् २०२८ मा एनसेल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन ? बहस धेरै नगरौँ अनेक बहानाबाट एनसेल फुत्केर सरकारबाट बाहिर जान्छ कि जाँदैन?’, उनले भने ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले एनसेलको सेयर खरिदबिक्री स्वभाविक नभएकोले सरकार यो प्रकरणमा गम्भीर रहेको बताएका छन् ।उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको जानकारी सञ्चारमाध्यमहरुमा चर्चामा आएसँगै त्यसलाई लिएर आफू गम्भीर रहेको बताएका हुन् ।
‘मैले दुबईमा नै यो बारे सुने र भोलिपल्ट नै फर्किए । त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिए । मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो । सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु ।’ उनले थपे ‘योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाए । यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ । हामीले कसैलाई ओभरल्याप गर्ने उद्देश्यले विल्कुल गरेको होइन । दूरसञ्चार प्राधिकरणको प्रतिनिधिहरु समेत बसेर यसरी जानु नै उचित हुन्छ भन्ने सोचे सम्झेको निष्कर्षमा पुगेपछि समिति बनाइएको हो ।’, उनले भने ।




प्रतिक्रिया