काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा चल्यो । प्रधानमन्त्री प्रचण्डले यसअघि पुस १० गते एक वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् पुनर्गठन गरेर कामलाई तीव्रता दिने दाबी गरे । उनले सरकारमा रहेका मन्त्रीहरुले आफूले अपेक्षा गरे अनुसार काम नगरेको बताउदैँ अब नया तरीकाबाट आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुवात गर्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले एक वर्ष पुगेको अवसरमा ‘राष्ट्रका नाममा’ गरेको सम्बोधनमा मन्त्रीहरुलाई पद छाड्नका लागि तयार रहन सन्देश दिएका थिए। ‘आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरुलाई भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन।’, उनले भनेका थिए ।
तर, एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नभएपछि सरकारले पुरानै ढर्रामा काम गर्न खोजेको प्रतिपक्षको आरोप छ। प्रतिपक्ष दलहरूले प्रधानमन्त्री प्रचण्डले काम कम, प्रचार बढी गरेको दाबी गर्दै आएका छन् । प्रधानमन्त्रीले निर्देशन मात्रे दिने गरेको तर, लागु हुने नगरेको प्रचण्डमाथि आरोप लाग्दै आएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिँदै अहिले देश बर्बाद हुँदै गएकोले मिसन ०८४ कुर्न नसक्ने अवस्था आएको बताएका हुन्। उनले भने, ‘अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका मानिसहरुको वरीपरी घुमिरहेका छन्। अब यो बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्नेछौं।’
माओवादी केन्द्रका प्रधानमन्त्री निकट नेताहरु भने कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री मन्त्री फेर्ने पक्षमा रहेकोले अब राष्ट्रियसभा निर्वाचन लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताउँछन्।
प्रधानमन्त्री प्रचण्डका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसहितका नेता परिचालन गरेर कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरिरहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार माग अन्तिम साता तिर पुनर्गठन हुने सक्ने बताइएको छ। अहिले प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलनका राष्ट्र र सरकार प्रमुखको १९ औं शिखर सम्मेलनमा भाग लिन युगान्डामा छन्।




प्रतिक्रिया