काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन नसकिने बताएका छन् ।
युगान्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार बिहान स्वदेश फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन नसकिने बताएका हुन् ।
रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको प्रचण्डले दाबी गरे । ‘रूसलाई पत्र पठाइएको छ । युगान्डामा पनि रूसका उपविदेशमन्त्रीसँग कुरा भएको छ । फिर्ता पठाइदिनुपर्यो भनेका छौँ । मारिएकाको विषयमा पनि क्षतिपूर्तिको कुरा भएको छ । सरकारले मात्रै भनेर हुँदैन सबैले व्यापकरूपयमा यस विषयमा कुरा उठाउनुपर्छ ।’ उनले भने ।
प्रधानमन्त्रीले जागीर खाने नाममा राज्यको नीति र संविधानको मर्म विपरीत जहाँ पायो त्यहीँ जाने प्रवृत्ति रोकिनुपर्नेमा जोड दिए। ‘जहाँ पायो त्यहीँ जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्मविपरीत जहाँ पनि सेनामा भर्ती हुने, बाटो छलेर जाने काम गर्न भएन भन्ने चेतना फैलाउनुपर्यो, रूस र युक्रेनसँग कुरा भइरहेको छ । उनीहरू युद्धमै छन् । सरकारले पठाएको पनि होइन, त्यसैले सरकारले भन्नासाथ रुसले मान्ने पनि होइन ।’ प्रचण्डले भने ।




प्रतिक्रिया