काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ । बैठकपछि प्रतिक्रिया दिदैँ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । शुक्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।
कांग्रेसले आगामी संसद बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएको छ । लेखकले सोमबार बस्ने संसदीय कार्यसमिति र संसदीय दलको बैठकले थप निर्णय गर्ने बताए । कांग्रेसले सोमबार अपराह्न २ बजे संसदीय दलको बैठक बोलाएको छ ।




प्रतिक्रिया