सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताउका छन् ।

२५६८ औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा आज आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धले शाश्वत वाणीहरू विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताएका हुन्।

“बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ ।”

लुम्बिनी आउँदा आफूलाई सँधै खुशी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए । उनले भने, “नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलको रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता पटक–पटक व्यक्त गरेको छ ।”

सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताए ।

नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीन कालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे ।

“हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन,” प्रधानमन्त्री प्रचण्डले भने, “यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ ।”

प्रतिक्रिया दिनुहोस
Advertisement