चुनाव, आर्थिक उत्थान र नेपालीको हितमा लाग्न नेपाली राजदूतलाई प्रधानमन्त्रीको निर्देशन

चुनाव, आर्थिक उत्थान र नेपालीको हितमा लाग्न नेपाली राजदूतलाई प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपाली राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिलाई आसन्न चुनावका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न निर्देशन दिएकी छन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्ति भएकी उनले पहिलोपटक नेपाली राजदूत र प्रतिनिधिहरूसँग भर्चुअल संवाद गर्दै चुनावमा अन्तर्राष्ट्रिय सुपरिवेक्षण र समर्थन सुनिश्चित गर्न निर्देशन दिएकी हुन् ।

उनले चुनावसँगै वैदेशिक सहयोगमा आर्थिक उत्थानका कार्यक्रम अगाडि बढाउनका लागि आवश्यक समन्वय गर्न पनि निर्देशन दिएकी छन् । भर्चुअल बैठकमा सहभागी स्रोतले भन्यो, ‘विदेशी लगानी भित्र्याउन, व्यापार प्रबर्द्धन गर्न, पर्यटकका लागि नेपाल सुरक्षित रहेको भन्ने सन्देश प्रवाह गर्न प्रधानमन्त्रीज्यूले जोड दिनुभयो । यसमा राजदूतावास र नियोगले सक्रिय भूमिका खेल्नुपर्ने अपेक्षा गरिएको छ ।’

बैठकमा विदेशमा रहेका नेपालीको हितमा काम गर्न पनि निर्देशन दिइएको छ । राजदूतावास र नियोगको सेवालाई प्रविधिमैत्री बनाउने, सुशासन कायम गर्ने, भिजिट भिसा दुरुपयोग हुन नदिने जस्ता कुरामा प्रधानमन्त्री कार्कीले जोड दिइन् ।

जेनजी आन्दोलनपछि कतिपय देशले नेपालीको भिसा रोकेको विषयमा प्रधानमन्त्री कार्कीले नेपालको छवि सुधार गर्न राजदूतहरूलाई आग्रह गरेकी छन् ।

नेपाली राजदूतसँगको संवादपछि अब प्रधानमन्त्री कार्कीले नेपालस्थित विदेशी कूटनीतिक प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।