प्रधानमन्त्री प्रचण्डले मोदीसँग अखण्ड भारतको नक्साबारे कुरा गरेको भन्दै संसद्‌मै झुट बोले


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफ्नो नयाँ ससंद् भवनमा राखिएको मुरलबारे भारतीय पक्षसँग कुरा भएको भन्दै झुट बोलेका छन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा आफ्नो भारत भ्रमणका क्रममा भारतीय संसद्‌मा नेपालको भूभाग समेटिएको नक्सा राखेको समाचार आएपछि भारतीय पक्षसँग कुरा राखेको भन्दै झुट बोलेका हुन् । उनले भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भन्दै जवाफ आएको दावी गरे ।

‘पहिलो कुरा संसद्को नक्साबारे कुरा भयो। मैले गम्भीर रुपमा नै उठाए किनकि त्यो धेरै अध्ययन भइसकेको त थिएन। तर पनि जसरी मिडियामा आएको थियो, त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ। यो के हो नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरूले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिए। यो कुनै राजनीतिक नक्सा होइन। यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो। यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो। त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन।,’ प्रधानमन्त्री प्रचण्डले भने ।

तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दिम बाग्चीले भने प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भारतको संसद्‌मा राखिएको मुरलबारे कुनै छलफल नगरेकाे बताएका थिए ।

‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नयाँ संसद्‌मा राखिएको मुरलबारे कुनै कुरा उठाउनु भएन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस विषयमा कुनै कुरा गर्नुभएन।’, प्रवक्ता अरिन्दमले प्रचण्ड भारत भ्रमणबाट नेपाल फर्केपछि भनेका थिए ।

त्यसैगरी परराष्ट्रमन्त्री एनपी साउदले पनि भारतीय सञ्‍चारमाध्यम आजतकसँग कुराकानीमा पनि यस मुरलबारे आफूलाई जानकारी नभएको र यो विषयमा विरोध गर्न नेपाललाई जरुरी पनि नभएको बताएका थिए।

भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाईसमेत समेटेकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement