काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व लिएपछि नक्कली शरणार्थी प्रकरणको पर्दाफास र भारत भ्रमणमा भएका सम्झौता ऐतिहासिक रहेको बताएका छन् ।
बुधबार माओवादी निकट प्रेस सेन्टर नेपालका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध डामिएकालाई नछाडिने र जोगाउन कतैबाट दबाब आए सरकारै छाड्न सकिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को कार्यक्रममा पनि सुशासनका लागि सरकार प्रयत्नशील रहेको बताए ।
स्व.नेता डिआर पौडेलको चौथो स्मृति दिवस अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने सुनिए पनि सुशासन र भ्रष्टाचार निर्मूल गर्दा आइपर्ने व्यवधान हटाउँदा प्रधानमन्त्रीको कुर्सी छाड्नुपर्ने पनि तयार रहेको उनले बताए।
उनले भने, ‘भ्रष्टाचार र बेथितिविरुद्ध लड्दालड्दै बरु सरकार गए जाओस्। गलत सम्झौता गर्नुभन्दा बरु सरकार छाडेर जनतामा जानु हितकारी लाग्छ।’ त्यस्तै प्रधानमन्त्री प्रचण्डले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताएका छन् ।
‘जनतालाई प्रत्यक्ष सेवा दिने कुरा, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु अतालिएका छन् ।’, उनले भने ।




प्रतिक्रिया