२४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाह, जलवायु न्यायको मुद्दा उठाउने

२४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाह, जलवायु न्यायको मुद्दा उठाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले भोग्दै आएको जलवायु संकट र त्यसबाट भइरहेको जनधनको क्षतिको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने भएका छन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा २२ देखि २८ सेप्टेम्बरसम्म हुने महासभाको ‘हाई लेभल जनरल डिबेट’ अन्तर्गत प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएका हुन्।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सचिव राईले महासभामा ८१ देशका राष्ट्र प्रमुख तथा ५० देशका सरकार प्रमुख सहभागी हुने जानकारी दिए।

प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनका कारण पटक–पटक भोग्नुपरेका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको ठूलो जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ।

‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ, महासभाको जनरल डिबेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहको छ । नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन, सो मार्फत ठूलो जनमतसहित गठन भएको वर्तमन सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न र अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता र बढोत्तरीका लागि उच्चस्तरबाटै आह्वान गर्न महासभा महत्वपूर्ण अवसरको रूपमा रहेको छ, सचिव राईले भने ।

नेपालको जलवायु न्यायको मागलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नुपरेको विषय उठाउनेछन्।

यस्तै, प्रकृतिमैत्री जीवनशैली, देशको ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, हिमालय र बृहत् नदी प्रणालीमार्फत नेपालले विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानबारे पनि महासभामा जानकारी गराइने सचिव राईले बताए।