एजेन्सी– बेलायती प्रधानमन्त्री कीर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिरबाट सोमबार देशवासीका नाममा सम्बोधन गर्दै स्टार्मरले राजीनामा घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्ने क्रममा कोर निकै भावुक देखिए ।
आफू देशलाई माया गर्ने व्यक्ति भएकाले देशलाई पहिलो प्राथमिकतामा राखेरै राजीनामा दिएको उनको भनाइ थियो ।
उनको दल लेबर पार्टी र सांसदहरुको चर्को दबाब र आलोचनाबीच स्टार्मरले राजीनामा दिए ।
सत्तारुढ लेबर पार्टीले नयाँ दल नेता चयन नगर्दासम्म कार्यबाहक प्रधानमन्त्रीको भूमिकामा उनी नै रहनेछन् ।
पद त्यागपछि आफूले एक असल श्रीमान र बाबुको भूमिका निर्वाह गर्ने स्टार्मरले बताए ।
देशबासीका नाममा सम्बोधन गर्नुअघि उनले सोमबार बिहान राजा चाल्र्सलाई भेटेर राजीनामा बुझाएका थिए ।
जुलाई २०२४ मा सम्पन्न निर्वाचनमा लेबर पार्टीलाई बहुमत दिलाउन स्टार्मरको निर्णायक भूमिका थियो ।
स्टार्मर ५ जुलाई २०२४ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
तर, अर्थतन्त्र उकास्न र चुनावी बाचाअनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्रैबाट उनले चर्को विवादको सामना गर्दै आएका थिए ।
गत साता भएको विशेष उपनिर्वाचनमा स्टार्मर लेबर पार्टीका प्रतिस्पर्धी एन्डी बर्नहमले ऐतिहासिक जित निकाले ।
ग्रेटर म्यानचेस्टरका पूर्वमेयर बर्नहमको जितपछि स्टार्मरको पार्टीभित्रैबाट राजीनामा माग्न थालिएको थियो ।
योसँगै पार्टी र सरकारको नेतृत्व लिन बर्नहमका लागि ढोका खुलेको छ ।




प्रतिक्रिया