काठमाण्डु- स्थानीय तहको निर्वाचनका लागि चुनाव प्रचारको अन्तिम दिन मंगलबार प्रधानमन्त्री तथा शेरबहादुर देउवा डडेलधुरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनाव प्रचारको अन्तिम दिन देउवाले जिल्लाको अमरगढी नगरपालिका र परशुराम नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्ने भएका हुन् । त्यसैगरी देउवा मतदान गरेर मात्रै डडेल्धुराबाट काठमाण्डु फर्किने भएका छन् । देउवा अब मतदान गरेर मात्रै काठमाण्डु फर्किने उनका प्रेस संयोजक गोविन्द परियारले बताए । देउवा चुनावी सभामा सहभागी हुन सोमबार गृहजिल्ला डडेल्धुरा पुगेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तुलनामा डडेल्धुरामा नेपाली कांग्रेस पहिलेभन्दा कमजोर बनेको चर्चा छ । नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डडेल्धुराको प्रदेश खबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्ल पक्षले नेपाली कांग्रेस विपीबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेस भित्रको कर्ण मल्ल पक्ष विभाजित भएपछि कांग्रेस सभापति देउवा लाई आफ्नै गृह जिल्लामा ठुलो झट्का लागेको हो ।




प्रतिक्रिया