डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन् ।
आइतबार डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको बताएका हुन् ।
“अहिलेको सरकार गठबन्धनको सरकार हो”, उनले भने, “गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।” वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उनको भनाइ छ ।
केपी ओलीले दुई पटक संसद् विघटन गरेपछि गठबन्धन बनेको देउवाको भनाइ थियो । “संसद् विघटन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले”, देउवाले भने, “संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ ।”
डडेल्धुराका जनताले मत दिएर सहयोग गरेर आफूू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्रिमधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने जानकारी दिए।
“पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ”, उनले भने, “त्यहाँ सम्भाव्यता अध्ययन गर्छौैं, मिले पक्की पुल नभए झोलुङ्गे पुल भएपनि बनाउनेछु ।” उनले माओवादी नेता भट्ट यहाँबाट निर्वाचन जिते यही गठबन्धन कायम रहे सुदूरपश्चिमको मुख्यमन्त्री बन्नसक्ने धारणा राखे ।




प्रतिक्रिया