चितवन – लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आउने भएका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए ।
यस्तै नेकपा (एमाले)ले पनि चितवनमा चुनावी सभा गर्दैछ । कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।
गठबन्धनबाट चितवन–१ मा कांग्रेसका विश्वराज पौडेल चितवन–२ मा कांग्रेसबाटै उमेश श्रेष्ठ र चितवन–३ मा माओवादी केन्द्रबाट भोजराज अधिकारी उम्मेदवार छन् । यहाँ ठूला दलहरूलाई पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बनेको छ । लामिछाने आफैं चितवन–२ मा उम्मेदवार बनेका छन् भने त्यसको प्रभाव आसपासमा समेत परेको छ ।




प्रतिक्रिया