निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुन्छ : प्रधानमन्त्री कार्की

निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुन्छ : प्रधानमन्त्री कार्की


काठमाण्डु– प्रधानमन्त्री सुशिला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन् ।

सोमबार काठमाण्डुमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं समूहको सपथ ग्रहण समारोहमा उनले प्रहरीहरुको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने भन्दै सबै जनाले कानूनभन्दा माथि कोही पनि नहुने कुरा सधैँ सम्झिनु पर्ने बताईन् ।

उनले भनिन, ‘नागरिकले आफ्नो सरकार तपाईंहरुको अनुहार र व्यवहारमा देख्नेछन् । तपाईको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने छन् । त्यसैले तपाईहरुले सधैँ सम्झिनु होला कानूनभन्दा माथि कोही पनि छैन, तर कानून कार्यान्वयन गर्ने जिम्मा पाएका अधिकृतहरुमा शिष्टचार र मानवताको धारणा पनि हुनुपर्छ । न्यायको यात्राको प्रथम ढोका नै तपाईहरु हो ।’

यस्तै, उनले अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक भयो भने मात्र कानूनको सहि कार्यान्वयन सम्भव हुने भन्दै यो कुरा न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा नजिकबाट देखेको बताईन् ।

उनले भनिन्, ‘न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा मैले नजिकबाट देखेको छु । कानूनको सहि कार्यान्वयन तब मात्र सम्भव हुन्छ जब अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक हुन्छ ।’

आगामी फागुन २१ गते हुने निर्वाचन उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोसेढुङ्गा भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले कुनै राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिइन् ।

प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताइन् ।